६ असार, हेटौंडा - पार्टीको केन्द्रीय महाधिवेशन कुर्न नहुने भन्दैै नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले पार्टीका नेता कार्यकर्ताहरूसँग आग्रह गरेका छन् । उनीहरूले हेटौंडामा जारी जिल्ला सभापतिहरूको भेलामा यस्तो आग्रह गर्दै सहभागीहरूमा पत्र बाँडेका हुन् । उनीहरूले बाँडेकोमा पत्रमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न महाधिवेशनबाट नयाँ नेतृत्वको चुनाव हुनुपर्ने आवश्यकतामा जोड दिएका हुन् ।
चन्द्र भण्डारी, धनराज गुरूङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल , रामकृष्ण यादव र किरण यादव गरी आठ जना केन्द्रीय सदस्यहरूले हेटौंडामा जारी सभापति भेलामा सो पत्र बाँडेका हुन् ।
पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुने र महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न नसकिने ठहर गरिएको छ ।
पत्रमा उल्लेख छ– हाम्रो विधान अनुसार नियमित रूपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं ।”
यसका लागि उनीहरूले महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब शुरू गर्न आह्वान गरेका हुन् । कम्तिमा यसै वर्ष ती तहको अधिवेशन सम्पन्न गरी २०७६ सालमा केन्द्रीय महाधिवेशन गर्न उनीहरुले सुझाव दिएका छन् ।
पत्रमा – यसले हाम्रो संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउने छ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ । आगामी स्थानीय चुनाव हुँदै गर्दा हामी सम्पूर्ण तयारी अवस्थामा हुनेछौं । हामीलाई विश्वास छ, सभापतिज्यूहरूको यस बैठकले यी विषयहरूमा छलफल गरी महासमितिबाट नयाँ सांगठानिक संरचनासहितको विधान पारित गर्ने कुरामा ठोस मार्गनिर्देशन गर्नेछ ।”
जिल्ला सभापतिहरूलाई दिइएको पत्रमा भनिएको छ– अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छ ? छैन ।
यस्तो छ पत्र